काठमाडौं- भारतले नेपालसहित ६ छिमेकी देशलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपालसहितका छिमेकी देशलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने जानकारी दिएको हो।
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान सहायतमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलब्ध गराउनेछ। यी देशमा जनवरी २० (भोलि)देखि नै खोप उपलब्ध गराइने प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जानकारी दिएका छन्।
यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई भ्याक्सिन उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको विदेश मन्त्रालयले जानकारी दिएको छ।
भ्याक्सिन लगाउने जनशक्तलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ। भर्चुअल माध्यमबाट संचालित २ दिने तालिम बुधबार समापन हुनेछ। तालिम लिएका प्रशिक्षकले आ-आफ्नो देशमा तालिम दिनेछ।
नेपाल सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिएको छ। औषधि व्यवस्था विभागले पनि कोभिसिल्ड भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।