काठमाडौं– कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो।
मंगलबार मुलपानी क्रिकेट मैदानमा २०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कर्णालीले ३६.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कर्णालीका लागि हिमांशु शाहीले अविजित ६८ रन बनाउँदा विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त ओलीले २९ रन बनाए। बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा २०४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६ र कप्तान विपिन खत्रीले ३२ रन बनाए। बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिँदा अनुज चुनरा र दिवन पुनले समान २–२ विकेट लिए।
यो कर्णाली प्रदेशको प्रधानमन्त्री कपमा पहिलो जित हो। यसअघि पहिलो खेलमा कर्णाली प्रदेश आर्मीसँग ८० रनले पराजित भएको थियो। गण्डकी प्रदेशको भने यो दोस्रो हार हो। पहिलो खेलमा आर्मीसँग ९८ रनले हारेको गण्डकीले दोस्रो खेलमा भने प्रदेश १ लाई दुई विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।