काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतीक भएको बताएका छन्।
मंगलबार राजधानको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै उनले ओलीले संघीयतालाई पनि मन नपराउने बताए। 'केपी ओली प्रतिगमनका प्रतीक हुन्। अग्रगमनका होइनन्। सबैतिर उनको एकलवाद, व्यक्तिवाद, अहंकार, दम्भ, आइ एम द स्टेट, आइ एम द पार्टी हाबी छ। उनी आफूलाई पार्टीभन्दा माथि ठान्छन्। उनी आफूलाई संविधानभन्दा माथि ठान्छन्। त्यसैले असंवैधानिक र गलत कदम उठाउने गरेका छन्', उनले भने।
ओली पहिल्यैदेखि गणतन्त्र विरोधी भएको नेता नेपालले आरोप लगाए। 'ओलीले पार्टीको बैठकमै गणतन्त्र आउन सक्दैन भन्नुभयो', ओलीलाई उद्धृत गर्दै नेता नेपालले भने, 'यसको विपक्षमा छु। मेरो फरक मत रहन्छ।'
गणतन्त्रको विरोधमा रहेका ओलीलाई गणतन्त्रप्रति माया र मोह नहुने उनको भनाइ छ। 'गणतन्त्रको विरोधी मान्छेलाई त्यसप्रति अपनत्व बोध हुन्छ?', उनको प्रश्न छ।
नेता नेपालले आफू र प्रचण्डबीचको सम्बन्ध विश्वासको जगमा भएको र ४० वर्षदेखिको भएको बताए।
'पञ्चायत विरोधी आन्दोनलको बेलामा, शान्ति प्रक्रियाको बेलामा, युद्ध चलिरहेको बेलामा रोल्पामा पुगेर वार्ता गरेर लखनउ, सिलिगुढी, गोरखपुर र पटना लगायतका यावत् ठाउँमा भएको वार्ता र छलफल भएको हो। प्रचण्ड, म र गिरिजाले तय गरेर गणतन्त्रको लागि अगाडि बढ्यौं', नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।