काठमाडौं– घरेलु टिम अस्ट्रेलिया विरुद्धको टेस्ट क्रिकेट सिरिजको शृंखला भारतले जितेको छ। अन्तिम तथा चौथो खेलमा अस्ट्रेलियालाई तीन विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो।
३२८ रनको मध्यम चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले सात विकेटको क्षतिमा लक्ष्य भेटायो। भारतको जितमा शुबमन गिलले ९१ रन बनाउँदा रिषभ पन्तले अविजित ८९ र चेतेश्वर पुजराले ५६ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका पट कुम्मिन्सले चार विकेट लिँदा नाथन लियोनले दुई विकेट लिए।
पहिलो इनिङ्सको समाप्तिसम्म ३३ रनले अघि रहेको अस्ट्रेलियाले यसअघि आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा २९४ रनमात्रै बनाएपछि भारतले मध्यम लक्ष्य पाएको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका स्टेभ स्मिथले ५५ र डेभिड वार्नरले ४८ रन बनाएका थिए। बलिङतर्फ भारतका मोम्मद सिराजले पाँच विकेट लिँदा शार्दुल ठाकुरले चार विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३६९ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि मार्नुस लचबस्काग्नेले शतकसहित १०८ रन बनाएका थिए। त्यस्तै कप्तान टिम पाइनले ५०, क्यामरन ग्रिनले ४७ र माथेव वाडेले ४५ रनको योगदान दिएका थिए। बलिङतर्फ भारतका टि नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले समान ३–३ विकेट लिएका थिए।
त्यसपछि आफ्नो पहिलो इनिङ्स थालेको भारतले तेस्रो दिन सबै विकेट गुमाउँदा ३३६ रन जोडेको थियो। भारतका लागि शार्दुल ठाकुर र वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गरे। शार्दुलले ६७ रन जोड्दा वासिङटनले ६२ रन बनाए। त्यस्तै, रोहित शर्माले ४४, मयंक अग्रवालले ३८ र कप्तान अजिंक्या राहानेले ३७ रन बनाएका थिए।
पहिलो खेल आठ विकेटको हार व्यहोरेको भारतले दोस्रो खेलमा अस्ट्रेलियाविरुद्ध आठ विकेटकै जित दर्ता गरेको थियो। तेस्रो खेल भने बराबरीमा सकिएपछि सिरिजको छिनोफानो अन्तिम खेलबाट लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।