काठमाडौं– बागमति प्रदेशले प्रधानमन्त्री पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा बागमतिले सुदूरपश्चिमलाई १८० रनको फराकिलो अन्तरले हराएको हो।
त्रिवि क्रिकेट मैदानमा ३०० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रनमात्रै बनाउन सक्यो। अग्रपंक्तिका चार खेलाडी शुन्यमा आउट हुँदा सुदूरपश्चिमले सुरुमै दबाबमा खेलेको थियो। नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ र किरण थगुन्नाले २४ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।
बलिङतर्फ बागमतीका रामनरेश गिरीले चार र नन्दन यादवले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतिले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९९ रन बनाएको थियो। बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४, आदिल खानले ६३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आर्चायले समान ३२–३२ रन बनाए।
बलिङतर्फ नारायण जोशीले तीन विकेट लिँदा भोजराज भट्ट र सन्तोष भट्टले समान २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।