काठमाडौं–प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशसँग २ विकेटको हार ब्यहोरेको हो।
यसअघि एपीएफ क्लबसँग पहिलो खेलमा १३५ रनको हार व्यहोरेको प्रदेश १ दोस्रो खेलमा पनि पराजित भएको हो। यो हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। यता, गण्डकी प्रदेशको भने यो पहिलो जित हो। यसअघि भएको खेलमा गण्डकी प्रदेश आर्मी क्लबसँग ९८ रनले हारेको थियो।
१०३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको गण्डकी प्रदेशले ३७ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेटायो। गण्डकीको जितमा अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५–३५ रन बनाए। शुभांकर उराओ र मनिष थापाले समान २–२ विकेट लिए।
विशालको ह्याट्रिक
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेटको क्षतिमा १०२ रन मात्रै बनाएको थियो। प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४ र मनिष थापाले २२ रन बनाउनबाहेक अन्य खेलाडी सस्तैमा समेटिए।
गण्डकी प्रदेशका बलर विशाल पौडेलले प्रधानमन्त्री कपको यो संस्करणमा ह्याट्रिक विकेट लिए। मुलपानी क्रिकेट मैदानमा २१ वर्षीय विशालले आफ्नो सातौं ओभरमा ह्याट्रिक विकेट लिएका हुन्। २७.१ ओभरमा चौका खाएका उनले त्यसपछि दोस्रो बलमा राजन मगरलाई क्याचआउट गराए। त्यसपछि तेस्रो बलमा मनोज तामाङलाई एलबीडब्लु आउट गराएका विशालले चौथो बलमा हेमन्त राईको विकेट लिँदै ह्याट्रिक विकेट पूरा गरेका हुन्।
उनले ६.४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए। विशालले दोस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका छन्। यसअघि उनले २०१९ को संस्करणको पनि खेलेका थिए। त्यस्तै, गण्डकीका सुवास भण्डारीले पनि किफायती बलिङ गरे। उनले ७ ओभरमा चार मेडनसहित १८ रन खर्चिएर चार विकेट लिएका लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।