काठमाडौं– गण्डकी प्रदेशका बलर विशाल पौडेलले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा ह्याट्रिक विकेट लिएका छन्।
सोमबार मुलपानी क्रिकेट मैदानमा प्रदेश १ विरुद्ध विशालले ह्याट्रिक विकेट लिएका हुन्। २१ वर्षीय विशालले आफ्नो सातौं ओभरमा ह्याट्रिक विकेट लिएका हुन्। २७.१ ओभरमा चौका खाएका उनले त्यसपछि दोस्रो बलमा राजन मगरलाई क्याच आउट गराए। तेस्रो बलमा मनोज तामाङलाई एलबीडब्लु आउट गराएका विशालले चौथो बलमा हेमन्त राईको विकेट लिँदै ह्याट्रिक विकेट पूरा गरेका हुन्।
उनले ६.४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए। विशाल दोस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका छन्। यसअघि उनले २०१९ को संस्करण पनि खेलेका थिए। त्यस्तै, गण्डकीका सुवास भण्डारीले पनि किफायती बलिङ गरेका छन्। उनले ७ ओभरमा चार मेडनसहित १८ रन खर्चिएर चार विकेट लिएका छन्।
विशाल र सुवासको उत्कृष्ट बलिङमा प्रदेश १ ले सबै विकेटको क्षतिमा १०२ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।