काठमाडौं– घरेलु टिम अस्ट्रेलिया भारतसँगको टेस्ट क्रिकेट सिरिजको अन्तिम खेलमा पहिलो इनिङ्स सकिँदा ३३ रनले अघि रहेको छ। भारत पहिलो इनिङमा ३३६ रनमा समेटिएपछि अस्ट्रेलियाले सामान्य अग्रता बनाएको हो।
तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले दोस्रो इनिङमा विना विकेट २१ रन बनाएको छ। योसँगै भारतविरुद्ध अस्ट्रेलियाले ५४ रनको अग्रता बनाएको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३६९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि मार्नुस लचबस्काग्नेले शतकसहित १०८ रन बनाएका थिए। त्यस्तै कप्तान टिम पाइनले ५०, क्यामरन ग्रिनले ४७ र माथेव वाडेले ४५ रनको योगदान दिएका थिए।
बलिङतर्फ भारतका टि नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले समान ३–३ विकेट लिएका थिए।
त्यसपछि आफ्नो पहिलो इनिङ्स थालेको भारतले तेस्रो दिन सबै विकेट गुमाउँदा ३३६ रन जोडेको थियो। भारतका लागि शार्दुल ठाकुर र वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गरे। शार्दुलले ६७ रन जोड्दा वासिङटनले ६२ रन बनाए। त्यस्तै, रोहित शर्माले ४४, मयंक अग्रवालले ३८ र कप्तान अजिंक्या राहानेले ३७ रन बनाए।
अस्ट्रेलिया र भारतबीचको यो अन्तिम खेल निर्णायक खेल हो। यसअघि १–१ खेलमा जित हात पारेको भारत र अस्ट्रेलियाबीचको तेस्रो खेल भने बराबरीमा टुंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।