काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। त्रिवी क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको हो।
२८८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेटको क्षतिमा १८९ रन मात्रै बनाउन सक्यो। गण्डकी प्रदेशका लागि समिर कँडेलले अर्धशतक बनाए। प्रधानमन्त्री कपमा उनको यो पहिलो अर्धशतक हो। त्यस्तै, कप्तान विपिन खत्रीले २५ बलमा चार छक्का र दुई चौका प्रहार गर्दै अविजित ३७ रन बनाउँदा अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रनको योगदान दिए।
बलिङतर्फ राजेश पुलामी मगरले पाँच विकेट लिए। उनले ९ ओभरमा २ मेडेनसहित २५ रन खर्चिएर पाँच विकेट लिएका थिए। त्यस्तै, भीम शार्कीले तीन विकेट लिए।
विनोदको शतक
यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २८७ रन बनायो। आर्मीको उच्च रनमा कप्तान विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे।
विनोदले ७३ बलमा शतक पूरा गरेका थिए। १११ रनमा अविजित रहने क्रममा विनोदले ७६ बलको सामना गर्दै ९ चौका र ५ छक्का प्रहार गरे। विनोदको यो प्रधानमन्त्री कपमा पहिलो शतक हो। त्यस्तै ओपनर राजु रिजालले ४५ रन बनाउँदा सातौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बमले ४२ र राजेश पुलामी मगरले ३८ रन जोडे। बलिङतर्फ विपिन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिए।
शुक्रबारबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमाको समूह ‘ए’ मा आर्मीसँगै अर्को विभागीय टिम एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्। त्यस्तै, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ रहेका छन्।
प्रतियोगिता अन्तर्गत शनिबार त्रिवी क्रिकेट मैदानमा एपिएफ क्लबले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार भएको उद्घाटनमा युवा तथा खेलकुदमन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।