काठमाडौं- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाएका छन्। गण्डकी प्रदेशविरुद्ध उद्घाटन खेलमा विनोदले शतक पूरा गरेका हुन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २८७ रन बनायो। आर्मीको उच्च रनमा कप्तान विनोदले उत्कृष्ट प्रदर्शन गरे। विनोदले ७३ बलमा शतक पूरा गरेका थिए। १११ रनमा अविजित रहने क्रममा विनोदले ७६ बलको सामना गर्दै ९ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै ओपनर राजु रिजालले ४५ रन बनाउँदा सातौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बमले ४२ र राजेश पुलामी मगरले ३८ रन जोडे। बलिङतर्फ विपिन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिए। २८८ रनको चुनौती पछ्याउँदै गण्डकीले ब्याटिङ गरिरहेको छ।
शुक्रबारबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेटको समूह ‘ए’ मा आर्मीसँगै अर्को विभागीय टिम एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्। त्यस्तै, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।