काठमाडौं- बुधबार सम्पन्न ग्लोबल आइएमई बैंकको १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ। साधारण सभाले ढकाललाई निर्विरोध चयन गरेको हो। यस्तै, क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) लाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन्। प्रत्यक्ष र भर्चुअल माध्यमबाट सञ्चालन गरिएको साधारण सभामा बैंकका सेयर सदस्यहरु, कर्मचारीको उपस्थिति थियो।
अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। महांसघ विधानमा वरिष्ठ उपाध्यक्ष अर्को साधारणसभापछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।
साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट सेयरधनीहरु १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो। बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक स्थापनाकालदेखि नै सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताएका थिए।
बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। ३ हजारभन्दा बढी कर्मचारी भएको बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।