काठमाडौं- बुधबार सम्पन्न लक्ष्मी बैंकको साधारण सभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। साधारणसभाले ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृतसमेत गरेको छ। साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको बैंकले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७६/७७ मा १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार १२८ अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो।
बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ। लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फन्ड १, लक्ष्मी इक्विटी फन्ड तथा लक्ष्मी उन्नति कोष नाममा म्युचुअल फन्ड जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।