फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने बताएका छन्। राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं,' राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'अहिले कोभिड-१९ छ। हामी सामाजिक दुरी कायम गरिरराखेका छौँ। जनतामा जागरण फैलाएर, तातो पानी खान सिकाएर कोभिडको सामना गरिराखेका छौँ। एकपटक कोभिड बढेपनि अहिले कम हुँदै गएको छ।'
ओलीले आफू नेतृत्वको सरकारका लागि सबैभन्दा बढी महत्वपूर्ण जनताको जीवनरक्षा गर्ने काम गरेको दाबी गरे। 'जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य हो। हामीले त्यही मूल मन्त्रलाई आत्मसात गर्दै काम गर्दै आएका छौं,' उनले भने।
आफू नेतृत्वको सरकारले जनमुखी काम गरेको दाबी प्रधानमन्त्रीको भनाइ थियो। 'एकैदिन हामीले ३०९ अस्पताल शिलान्यास गरेका छौँ। ३९६ वटा अस्पताल शिलान्यास गर्ने योजना थियो। तर प्राविधिक विषय नमिलेर हामीले ३०९ अस्पताल शिलान्यास गर्यौँ। एक वर्षमा होइन, एकैदिनमा हो। अरु कुनै सरकारले यसरी जनताका काम गरेका थिए?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।