काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग खेल्ने भएको छ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले समूह विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘ए’ मा आर्मीसँगै अर्को विभागीय टिम एपिएफ क्लब पनि परेको छ। त्यस्तै, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश समूह ‘ए’ मा रहेका छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ रहेका छन्।
माघ २ गते सुरु हुने प्रधानमन्त्री कपको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग खेल्न लागेको हो। उद्घाटन खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यस्तै, माघ ३ गते एपिएफले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ।
माघ ४ गते भने दुई खेल हुनेछ। त्रिवी क्रिकेट मैदानमा पुलिसले बागमति प्रदेशसँग प्रतिस्पर्धा गर्दा मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले आर्मीसँग खेल्नेछ।
समूह चरणको खेल १२ गते सकिने छ भने १४ गते पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। त्यस्तै, त्रिवि क्रिकेट मैदानमै १५ गते दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ। फाइनल खेल माघ १७ गते त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।