काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन फेब्रुअरी ११ मा हुने भएको छ।
बिसिसिआईले २०२१ को आइपिएलको अक्सन आगामी फेब्रुअरी ११ तारिखमा गर्ने निर्णय गरेको हो। त्यस्तै, फ्रेन्चाइज आठ क्लबहरुले यही महिनाको २० तारिखसम्म रिटेन र रिलिज गरेर फाइनल सूची बुझाई सक्नुपर्नेछ। १४ औं संस्करणको आइपिएल कहाँ र कुन मितिमा हुने त्यसको टुंगो भने लागिसकेको छैन।
१३ औं संस्करणको आइपिएल भने युएईमा सम्पन्न भएको थियो। फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बइए इन्डियन्सले पाँचौं पटक उपाधि जितेको थियो।
लगातार तीन सिजन आइपिएलका लागि दिल्ली क्यापिटल्समा अनुबन्धित भएका सन्दीप लामिछानेलाई यो पटक भने क्लबले रिटेन गर्छ कि रिलिज? सन्दीपलाई दिल्लीले यसअघि लगातार दुई सिजन रिटेन गरेको थियो। डेब्यु सिजनमा सन्दीपले तीन खेलबाट पाँच विकेट लिएका थिए।
२०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिएका थिए। २०२० मा भएको आइपिएलमा भने सन्दीपले एक खेल पनि खेल्न पाएनन्। बेन्चमै रहेका सन्दीपप्रति टिमले विश्वास गरेन। टिमले फाइनलसम्मको यात्रा तय गर्दा बेन्चमै सन्दीपलाई राखेको दिल्लीले २०२१ को आइपिएलको लागि रिटेन नगर्न सक्छ। २० लाख भारुमा २०१८ मा अनुबन्धित भएका सन्दीपको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग यात्रा दिल्ली कै कारण भएको थियो। तर गएको सिजनमा सन्दीपप्रति विश्वास नगरेको दिल्लीले यो पटक भने उनलाई रिलिज गर्ने सम्भावना बढी छ।
सन्दीपलाई दिल्लीले रिलिज गरे अन्य टिमले भित्र्याउन सक्छन्। अक्सनबाटै पनि सन्दीपलाई अन्य टिमले अनुबन्धित गर्ने सम्भावना रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।