काठमाडौं– अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा होबर्ट हुरिकेन्सबाट खेलिरहेका नेपाल युवा स्टार सन्दीप लामिछानेले एक विकेट लिएका छन्। सन्दीपले सिड्नी थण्डरविरुद्ध एक विकेट लिएका हुन्।
सिड्नी थण्डरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएपछि होबर्ट हुरिकेन्सले १६८ रनको लक्ष्य पाएको छ। सिड्नीका लागि उस्मान खवाजाले ३३ बलमा ४९ रन बनाउँदा एलेक्स रोसले ३३ बलमा अविजित ४४ र बेन कटिङले १४ बलमा अविजित ३१ रन बनाए। त्यस्तै, एलेक्स हलेसले २१ र अर्जुन नायरले १५ रनको योगदान दिए।
बलितर्फ हुरिकेन्सका डि’अर्सी शोर्टले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २६ रन खर्चिएर तीन विकेट लिए। सन्दीपले चार ओभरमा २३ रन खर्चिएर एक विकेट लिएका हुन्। सन्दीपले कप्तान क्यालुम फेर्गुसनलाई एक रनमा क्याच आउट गराए।
यसअघि हुरिकेन्सका सन्दीपले आफ्नो पूर्वक्लब मेलबर्न स्टार्ससँगको पहिलो खेलमा दुई विकेट लिएका थिए। क्वारेनटाइनबाट फर्किएका सन्दीपले चार ओभरमा ३८ रन खर्चिएर दुई विकेट लिएका थिए। यो खेलमा हुरिकेन्सले मेलबर्नलाई २१ रनले पराजित गरेको थियो। त्यस्तै, मेलबर्नसँग कै दोस्रो खेलमा पनि सन्दीपले एक विकेट लिएका थिए। उनले दोस्रो खेलमा भने चार ओभर बलिङ गर्दै ३६ रन खर्चिएर एक विकेट लिएका थिए। तर हुरिकेन्स १० रनले मेलबर्नसँग हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।