काठमाडौं-भारत र घरेलु टिम अस्ट्रेलियाबीचको टेस्ट क्रिकेट सिरिजको तेस्रो खेलमा २५ प्रतिशतमात्रै दर्शक राख्ने भएको छ।
क्रिकेट अस्ट्रेलियाले बिहीबारदेखि सिड्नी क्रिकेट मैदानमा सुरु हुने तेस्रो खेलमा दर्शक क्षमता घटाएर २५ प्रतिशतमा झारेको हो। क्रिसमसअघिदेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि दर्शक क्षमता घटाएको हो। ४८ हजार दर्शक क्षमता रहेको सिड्नी क्रिकेट मैदानमा यसअघि ५० प्रतिशत दर्शक राख्ने निर्णय भएको थियो।
त्यस्तै, क्रिकेट अस्ट्रेलियाले दर्शक क्षमता घटाउँदै सामाजिक दूरी कायम गर्न पनि निर्देशन दिएको छ। केही दिनअघि भारतीय क्रिकेट टिमका पाँच खेलाडीलाई आइसोलेसनमा राखिएको थियो। होटेलबाहिर गएर एक रेस्टुरेन्टमा खानेकुरा खाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि रोहित शर्मा, रिषभ पन्त, सुबमन गिल, पृथ्वी शो र नभदिप शैनीलाई आइसोलेसनमा राखिएको थियो। तर उनीहरुसहित टिमका स्टाफको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भाइरसको सेक्युरिटी प्राेटाेकल उल्लंघन गरेको भन्दै उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
चार खेलको टेस्ट क्रिकेट सिरिजमा अस्ट्रेलिया र भारतले १–१ खेल जितेका छन्। पहिलो खेल अस्ट्रेलियाले आठ विकेटले जित्दा दोस्रो खेल भारतले पनि आठ विकेटले नै जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।