काठमाडौं– श्रीलंकालाई १० विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले टेस्ट क्रिकेट सिरिज क्लिन स्विप गरेको छ।
श्रीलंकासँगको अन्तिम तथा दोस्रो टेस्ट क्रिकेट खेल घरेलु टिम दक्षिण अफ्रिकाले तेस्रो दिन मै जित निकालेको हो। ६७ रनको सामान्य चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ थालेको दक्षिण अफ्रिकाले विना विकेट लक्ष्य भेटायो। दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले अविजित ३६ रन बनाउँदा डेन इल्गरले अविजित ३१ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले आफ्नो पहिलो इनिङमा खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १५७ रन मात्रै बनाएको थियो। श्रीलंकाका लागि कुशल परेराले ६० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन्। बलिङतर्फ एनरिज नोर्ट्जेले ६ विकेट लिदा वियान मुल्डरले तीन विकेट लिए।
त्यसपछि दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा ३०२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर डेनले शतकसहित १२७ रन बनाएका थिए। बलिङतर्फ श्रीलंकाका विश्वा फर्नान्डेजले पाँच विकेट लिए।
पहिलो इनिङमै श्रीलंका १४५ रनले पछि परेको थियो। आफ्नो दोस्रो पारीमा पनि श्रीलंकाले कमजोर ब्याटिङ गरेपछि दक्षिण अफ्रिकाले सामान्य लक्ष्य पाएको थियो। श्रीलंकाले आफ्नो दोस्रो इनिङमा २११ रन बनाएको थियो। कप्तान दिमुथ करुणरत्नेले १०३ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एकै इनिङमा ४५ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।