काठमाडौं–न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टेस्ट क्रिकेटमा चौथो पटक दोहोरो शतक बनाएका छन्। पाकिस्तानविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलमा केनले दोहोरो शतक बनाएका हुन्।
६ विकेटको क्षतिमा ६५९ रन बनाउँदा न्युजिल्यान्डले आफ्नो पहिलो इनिङको समाप्तिको घोषणा गर्याे। पाकिस्तानविरुद्ध न्युजिल्यान्डले उच्च रन बनाउने क्रममा कप्तान केनले दोहोरो शतक बनाए। ३६४ बलको सामना गरेका केनले २८ चौका प्रहार गर्दै २३८ रन बनाए। कप्तान केनले दोहोरो शतक बनाउँदा हेनरी निकोलसले शतकसहित १५७ र डेरिल मिचेलले शतकसहित अविजित १०२ रन जोडे।
केन विलियम्सनको यो चौथो दोहोरो शतक हो। यसअघि सन् २०१५ मा श्रीलंकाविरुद्ध केनले २४२ रन बनाउँदै दोहोरो शतक बनाएका थिए। त्यस्तै, २०१९ मा बंगलादेशविरुद्ध २०० रन बनाउँदै अर्को दोहोरो शतक बनाएका थिए। यसै वर्षको डिसेम्बर ३ तारिखमा वेष्ट इन्डिजविरुद्ध २५१ रन बनाउँदै आफ्नो टेस्ट क्रिकेट करियरमै सर्वाधिक उच्च रन बनाएका थिए। टेस्ट क्रिकेटको विश्व वरियतामा शीर्ष स्थानमा रहेका केन प्रभावशाली खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।