काठमाडौं– अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा नेपाली युवा स्टार सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्स पराजित भएको छ। हुरिकेन्स सन्दीप आबद्ध पूर्व क्लब मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो।
१८४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनमात्रै बनाउन सक्यो।
हुरिकेन्सका लागि बेन म्याकडेर्मटले ९१ रन बनाए। ५८ बलमा आठ चौका र पाँच छक्का प्रहार गर्दै ९१ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन्। त्यस्तै, डेविड मलानले २६ र कप्तान पिटर ह्यान्ड्सकोम्बले २१ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७ रन बनाए। शतक बनाउनबाट उनी तीन रनले चुके। उनले ५५ बलमा सात चौका र सात छक्का प्रहार गरेका थिए। हिल्टन कार्टराइटले ३६ र निकोलस पुरनले २६ रनको योगदान दिएका थिए।
बलिङतर्फ नाथन इलिसले तीन, रिले मेरेडिथले दुई साथै सन्दीप लामिछानेले एक विकेट लिए। होबर्ट हुरिकेन्सका लागि सन्दीपले आठौँ ओभरको दोस्रो बलमा कप्तान ग्लेन म्याक्सवेललाई ६ रनमा आउट गराए। सन्दीपले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिएर एक विकेट लिएका हुन्।
यसअघि सन्दीपले दुई सिजन बिग बास लिगमा मेलबर्न स्टार्सबाट नै खेलेका थिए। यो तेस्रो सिजनमा भने उनलाई होबर्ट हुरिकेन्सले टिममा आबद्ध गरेको हो। अस्ट्रेलिया पुगेर १४ दिनको क्वारेन्टाइन बसेपछि सन्दीपले आफ्नो पहिलो खेलमा शनिबार मेलबर्न स्टार्सविरुद्ध नै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।