काठमाडौं-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या ( २० देशमा) ३ सय १५ पुगेको छ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब र कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
हाल बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ। भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।