काठमाडौं- अस्ट्रेलियाको बिग बास लिग (बिबिएल)मा सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले मलबर्न स्टार्सलाई पराजित गरेको छ। टी-ट्वान्टी क्रिकेटमा लामिछानेको २ विकेटसहितको सहयोगमा हुरिकेन्सले जित हात पारेको हो। हुरिकेन्सले मेलबर्नलाई २१ रनले पराजित गरेको छ।
हुरिकेन्सका लागि सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन्। मेलबर्नका हिल्टन कार्राटइट र बेन डुन्कलाई सन्दीपले आउट गरेका थिए। यस्तै हुरिकेन्सका स्कोट बोलान्डले ३ विकेट लिए। यस्तै नाथन एलिसले पनि २ विकेट लिएका थिए।
हुरिकेन्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाएको थियो।
हुरिकेन्सका लागि डाविड मालनले ७५ रन जोडेका थिए भने बेन म्याकडेर्मोटले ३१ रन बनाए। मेलबर्नका बिलि स्टानलेकले ३ विकेट लिएका थिए।
मेलबर्नका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
मेलबर्नलाई हराएसँगै हुरिकेन्सले ७ खेलमा १८ अंक जोडेको छ। जितसँगै हुरिकेन्स दोस्रो स्थानमा पुगेको छ। ६ खेलमा ११ अंक जोडेको मेलबर्न पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।