काठमाडौं– न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट क्रिकेटमा नम्बर एक खेलाडी बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याटिङमा कप्तान केन शीर्ष स्थानमा उक्लिएका हुन्।
तेस्रो नम्बरमा रहेका केन ८९० रेटिङ आउँदै शीर्ष स्थानमा उक्लिदा शीर्ष स्थानका अस्ट्रेलियन ब्याट्सम्यान स्टेभ स्मिथ भने तेस्रो स्थानमा झरेका छन्। भारतीय कप्तान विराट कोहली भने दोस्रो स्थानमा यथावत रहेका छन्।
पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध १०१ रनको जित निकाल्ने क्रममा न्युजिल्यान्डका कप्तान केनले २३ औं शतक पूरा गरेका थिए। उनले पाकिस्तानविरुद्ध १२९ रन बनाए। यसअघि डिसेम्बर पहिलो साता भएको वेष्ट इन्डिजविरुद्धको खेलमा केनले करियरकै उच्च स्कोर बनाएका थिए। उनले वेष्ट इन्डिजविरुद्ध टेष्ट क्रिकेटमा २५१ रनको उच्च रन बनाएका थिए। केनले टेष्ट क्रिकेटमा तीन वटा दोहोरो शतक बनाएका छन्। सन् २०१५ मा श्रीलंकाविरुद्ध केनले २४२ रन बनाउँदै दोहोरो शतक बनाएका थिए। त्यस्तै, २०१९ मा बंगलादेशविरुद्ध २०० रन बनाउँदै अर्को दोहोरो शतक बनाएका थिए।
टेस्ट क्रिकेटको बलिङतर्फ भने शीर्ष स्थानमा अस्ट्रेलियाका पट कुम्मिन्स कायमै रहेका छन्। दोस्रो स्थानमा इंग्ल्यान्डका स्टुआर्ड बोर्ड रहेका छन्। अलराउण्डरतर्फ शीर्ष स्थानमा इंग्ल्यान्डका बेन स्टोक्स रहँदा दोस्रो स्थानमा वेष्ट इन्डिजका जासन होल्डर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।