नयाँदिल्ली–अंग्रेजी नयाँ वर्षका बेला भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ। दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले ३१ डिसेम्बर र १ जनवरीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो।
दुवै दिन राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने डीडीएमएले जनाएको छ। यसक्रममा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। यस्तै, सार्वजनिक स्थलमा नयाँ वर्ष मनाउन नपाइने जनाइएको छ।
भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि सरकारले यो कदम चालेको हो।
यसैबीच, भारतमा २४ घण्टामा २१ हजार ८ सय २१ संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमितको कूल संख्या १ करोड २ लाखभन्दा बढी भएको छ। यस्तै, २४ घण्टामा २ सय ९९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ७ सय ३८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।