काठमाडौं– श्रीलंकासँगको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले सहज जित निकालेको छ। दक्षिण अफ्रिकाले श्रीलंकालाई एकै इनिङमा ४५ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले आफ्नो पहिलो इनिङमा सबै विकेटको क्षतिमा ३९६ रन बनाएको थियो। श्रीलंकाका लागि दिनेश चन्डिमलले ८५, धनन्जय सिल्भाले ७९, दसुन शानकाले ६६ र निरोशान डिकवेल्लाले ४९ रन बनाए। यसपछि आफ्नो पहिलो इनिङ थालेको दक्षिण अफ्रिकाले सबै विकेटको क्षतिमा ६२१ रन बनाएका थिए।
दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले १९९ रन बनाए। उनी दोहोरो शतक बनाउनबाट १ रनले चुके। त्यस्तै, डेयन इल्गरले ९५, केशव महराजले ७३ र एडन माक्र्रमले ६८ रन बनाए। बलिङतर्फ वानिन्दु हसरंगाले ४ र विश्वा फेर्नान्डोले ३ विकेट लिए।
पहिलो इनिङको समाप्ति मै २२५ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिङमा १८० रन मात्रै बनाएपछि दक्षिण अफ्रिकाले ४५ रनको जित निकालेको हो।
दोस्रो पारीमा कुशल परेराले ६४, वानिन्दु हसारंगले ५९ रन बनाउन बाहेक अन्य खेलाडीले उच्च रन बनाउन नसक्दा एकै इनिङमा श्रीलंका पराजित भएको हो। दुई खेलको टेस्ट क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध १–० को अग्रता पनि बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।