काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले वागमती प्रदेशलाई ४६ रनले हराएको छ। प्रदेश १ ले दिएको १०७ रनको लक्ष्य पछ्याएको वागमतीले १६.४ ओभरमा ६० रन बनाउँदा सबै विकेट गुमायो।
वागमतीका लागि अस्मिता खरेलले ८ बलमा २ रन, कञ्चन श्रेष्ठले २८ बलमा १३ रन, सुजिता थापाले ८ बलमा ९ रन, हेलिशा गुरुङले १८ बलमा ८ रन, सुमन खतिवडाले १६ बलमा १२ रन, अस्मिना कर्माचार्यले २ बलमा १ रन, निष्मा तामाङले २ बलमा १ रन, आरती बिडारीले १० बलमा अविजित रहँदै ८ रन बनाए।
प्रदेश नम्बर १ का लागि निग्मा तामाङले तीन, अप्सरी बेगमले दुई साथै सबनम राई, निशा शाह र एलिशा खडियाले एक-एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर १ ले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १०६ रन बनाएको थियो। जसमा रुबिनाले ५५ बलमा ५५ रन बनाइन्। उनले ६ चौका बनाइन्। प्रतियोगितामा यो तेस्रो अर्धशतक हो। यसअघि प्रदेश नम्बर २ की अनुराधा चौधरीले कर्णाली प्रदेशविरुद्ध ६० बलमा अविजित ६९ रन बनाएकी थिइन्। यस्तै कर्णाली प्रदेश विरुद्ध नै एपिएफकी सीता राना मगरले ५९ बलमा ६८ रन बनाएकी थिइन्।
प्रदेश नम्बर १ का लागि रोमा थापाले १९ बलमा ४ रन, लकिता राजबंशीले २२ बलमा ४ रन, संगीता राईले ५ बलमा १ रन र निग्मा तामाङले ७ बलमा ५ रन बनाइन्। साथै अप्सरी बेगमले १३ बलमा अविजित १६ रन बनाइन्। जसमा उनले प्रतियोगिताकै पहिलो छक्का पनि हानिन्। प्रतियोगितामा समूह ‘ए’ को समूह चरणका ६ खेल र समूह बी को दोस्रो खेल चलिरहँदा अप्सरीको छक्का प्रतियोगिताकै पहिलो छक्का हो।
वागमतीका लागि आरती बिडारीले दुई साथै कृष्मा गुरुङ, अस्मिना कर्माचार्य र निषा तामाङले एक-एक विकेट लिएका थिए।
प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको थियो। यसअघि नै समूह ‘ए’ बाट एपिएस र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।