काठमाडौं– अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले जित निकालेको छ। यो जितसँगै भारतले चार खेलको टेस्ट सिरिज १–१ को बराबरीमा ल्याएको छ।
घरेलु टिम अस्ट्रेलियाविरुद्ध ७० रनको सामान्य लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो इनिङ थालेको भारतले एक दिन अघि नै आठ विकेटको जित निकालेको हो। दोस्रो इनिङमा भारतका शुबमन गिलले अविजित ३५ र कप्तान अजिंक्या राहानेले २७ रन जोडे। १६ रनमा मयंक अग्रवाल व्यक्तिगत पाँच रनमा आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वर पुजरा पनि तीन रनमा आउ भएका थिए। बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र पट कुम्मिन्सले १–१ विकेट लिए।
यसअघि अस्ट्रेलियाले दोस्रो इनिङमा सबै विकेटको क्षतिमा २०० रन मात्रै बनाएपछि भारतले ७० रनको लक्ष्य पाएको थियो। अस्ट्रेलियाका लागि क्यामेरन ग्रिनले ४५ र माथेव वाडेले ४० रन बनाएपनि अन्य खेलाडी भने सस्तैमा समेटिए। यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाउँदा १९५ रन मात्रै बनाएको थियो। अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान चल्न सकिरहेका छैनन्।
भारतले आफ्नो पहिलो इनिङमा ३२६ रन बनाएको थियो। पहिलो इनिङको समाप्ति मै भारत अस्ट्रेलिया भन्दा १३१ रनले अघि रहेको थियो। भारतको मध्यम योगफलमा कप्तान राहानेले शतक बनाएका थिए। राहाने ११२ मा रनआउट भए। त्यस्तै, रविन्द्र जडेजा ५७ र शुबमन गिलले ४५ रन बनाएका थिए।
चार खेलको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा भारत अस्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेको थियो। दोस्रो पारीमा भारतले ३६ रन मात्रै बनाएपछि ९० रनको चुनौती पाएको अस्ट्रेलियाले आठ विकेटको जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।