काठमाडौं- विभागीय एपिएफ क्लब दाङ लमहीस्थित देउखुरीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ समूह ‘ए’ को विजेता बनेको हो।
एपिएफसँग पराजित भएपनि लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गर्दा प्रदेश २ र कर्णाली प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ।
आफ्नो अन्तिम खेलमा एपिएफले लुम्बिनीलाई ६१ रनले हराएको हो। १२३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ६१ रन मात्रै बनायो। लुम्बिनीकी दुई खेलाडीले दोहोरो अंक बनाए। लक्ष्मी चौधरीले ११ र सरस्वती पुनले १० रन बनाए। बलिङतर्फ एपिएफकी करुणा भण्डारीले तीन विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १२२ रन बनाएको थियो। एपिएफकी ज्योती पाण्डेले ४९ र इन्दु बर्माले २८ रन बनाइन्। बलिङतर्फ नेरी थापाले दुई विकेट लिइन्।
सोमबार नै भएको पहिलो खेलमा भने प्रदेश २ ले कर्णाली प्रदेशलाई १४३ रनले हराएको छ। १६६ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २२ रन मात्र बनाउन सकेको हो। प्रदेश २ ले टस जितेर ब्याटिङ रोज्दै पूरा ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाएको थियो। जसका लागि अनुराधा चौधरीले अविजित ६९, शोभा आलेले २३, र बिमला मगरले २१ रन बनाए। कर्णालीका लागि निशा पराजुलीले दुई विकेट लिइन्।
कर्णालीले बलिङमा अतिरिक्त रन नै ज्यादा खर्चिएको थियो। ४३ रन अतिरिक्त हुँदा टिमका लागि लक्ष्य थप मुस्किल बनेको हो। १६६ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो। जसमा कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। तृसना विश्वकर्माले ७, आयुशा टण्डनले ४ रन र दिक्षा पुनले २ रन बनाए। बलिङतर्फ प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले तीन–तीन विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।