काठमाडौं– न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टेस्ट क्रिकेटमा २३ औं शतक बनाएका छन्। पाकिस्तानविरुद्ध टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा कप्तान केनले शतक बनाएका हुन्।
न्युजिल्यान्डका कप्तान केनको शतकमा घरेलु टिमले पहिलो इनिङमा पाकिस्तानविरुद्ध ४३१ रनको योगफल तयार पार्यो।
न्युजिल्यान्डका कप्तान केनले १२९ रनको योगदान दिए। यो केनको टेस्ट क्रिकेटमा २३ औं शतक हो। यसअघि डिसेम्बर पहिलो साता भएको वेष्ट इन्डिजविरुद्धको खेलमा केनले करियरकै उच्च स्कोर बनाएका थिए। उनले वेष्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा २५१ रनको उच्च रन बनाएका थिए।
केनले टेस्ट क्रिकेटमा तीन वटा दोहोरो शतक बनाएका छन्। सन् २०१५ मा श्रीलंकाविरुद्ध केनले २४२ रन बनाउँदै दोहोरो शतक बनाएका थिए। त्यस्तै, २०१९ मा बंगलादेशविरुद्ध २०० रन बनाउँदै अर्को दोहोरो शतक बनाएका थिए।
टेस्ट क्रिकेटको विश्व बरियतामा तेस्रो नम्बरमा रहेका केन एक प्रभावशाली खेलाडी हुन्। उनी बाहेक पाकिस्तानविरुद्ध न्युजिल्यान्डका ब्राड्ली जोहन वाट्लिङले ७३, रोस टायलरले ७० र हेनरी निकोलसले ५६ रन बनाए। बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले चार र यासिर शाहले तीन विकेट लिए।
पाकिस्तान भने पहिलो इनिङ मै फराकिलो अन्तरले पछि परेको छ। आफ्नो पहिलो इनिङमा २३९ रन मात्रै बनाएपछि पाकिस्तान १९२ रनले पछि परेको हो। पाकिस्तानका कुनै पनि शीर्ष बरियताका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। फाहिम अश्राफले ९१ र कप्तान मोहम्मद रिजवानले ७१ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।