काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हराएको छ। प्रदेश २ ले दिएको ७३ रनको लक्ष्य एपिएफले १३.१ ओभरमा २ विकेट जाँदा पूरा गरेको हो।
एपीएफले प्रदेश नम्बर २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन्। लगातार दुई खेलमा पराजित भएका कर्णाली र प्रदेश नम्बर २ प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि आइतबार नै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशसँग कर्णाली ९ विकेटले पराजित भएको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश २ ले पूरा २० ओभर खेल्दै ८ विकेट जाँदा ७२ रन बनाएको थियो। जसमा शोभा आले र अनुराधा चौधरीले मात्र दोहोरो अंकमा रन जोड्न सकेका थिए। शोभाले २३ बलमा १३, अनुराधाले ३४ बलमा १८ रन बनाएका थिए।
एपिएफका लागि सीता राना मगरले दुई साथै रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले एक-एक विकेट लिए।
७३ रनको लक्ष्य पछ्याएको एपिएफका लागि ज्योती पाण्डेले ४० बलमा ३० रन साथै सीता राना मगरले ३० बलमा १८ रन बनाइन्। प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले एक-एक विकेट लिए।
यस्तै शनिबार भएको खेलमा कर्णाली प्रदेश एपिएफसँग २०४ रनले पराजित भएको थियो। शनिबार नै लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ९ विकेटले नै हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।