काठमाडौं- नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने सम्पूर्ण यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा कोरोना भाइरस भन्दा पनि बढी संक्रामक भाइरस पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए।
युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए। बैठकले पुस १ यता नेपाल आएकाहरूले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर जान पनि अनुरोध गरेको छ।
यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टाइन बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ।
सरकारले सोमबार साउदी उडान पनि बन्द गरेको थियो। हिमालय एयरलाइन्सले गर्दै आएको साउदी उडान पनि रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।