काठमाडौं- बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका ३ जना शाखा प्रबन्धक र पूर्वप्रबन्धक पक्राउ परेका छन्। बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ।
उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र हालसम्म सावाँब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उनीहरुले बैंकलाई ७ करोड ४२ लाख ६१ हजार नोक्सानी पुर्याएको जनाइएको छ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा तीन जनालाई ऋणीलाई गत मङ्सिर २६ गते पक्राउ गरिएको थियो। पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।