काठमाडौं– पाकिस्तानसँगको तीन खेलको टि–२० क्रिकेट सिरिज न्युजिल्यान्डले एक खेल अघि नै जितेको छ।
आइतबार भएको दोस्रो खेलमा घरेलु टिम न्युजिल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो। १६४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.२ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेटायो।
न्युजिल्यान्डका ओपनर टिम सेफर्ट र कप्तान केन विलियम्सनले उत्कृष्ट साझेदारी गर्दै जिताए। ३५ रन हुँदा पहिलो विकेटको रुपमा मार्टिन गुप्टिल २१ रनमा आउट भए। तर दोस्रो विकेटका लागि कप्तान केनले सेफर्टसँग मिलेर १२९ रनको साझेदारी गरे। सेफर्टले ६३ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। त्यस्तै, कप्तान केनले अविजित ५७ रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद हफिजले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ९९ रन बनाए। उनले ५७ बलमा १० चौका र पाँच छक्का प्रहार गर्दै ९९ रन बनाए।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले चार विकेट लिए।
दोस्रो खेलमा जित हात पारेसँगै न्युजिल्यान्डले पाकिस्तानविरुद्ध सिरिज २–० ले अग्रता बनाएको छ। अब पाकिस्तानले तेस्रो खेल न्युजिल्यान्डसँग मंगलबार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।