काठमाडौं- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित साठी जना जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा रकम बिमा कम्पनीहरूले दाबी नगरेको खुलेको छ।
महानगरका स्रोतका अनुसार महानगरले नै बिमा गराएका ६० जना संक्रमित भएर कोरोना बिमा रकम मागदाबी गरे पनि बिमा कम्पनीले भुक्तानी नगरेको गुनासो गरेका हुन्। कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरेको दुई महिना पुग्दा पनि बिमा रकम भुक्तानी हुन नसकेको हो।
दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ। ६० जना कोरोना संक्रमित कर्मचारी र जनप्रतिनिधिको कागजात मिलाउने प्रक्रियामा रहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। बिमा रकम दाबी गरेको दुई महिना कट्दा पनि भुक्तानी नभएको भने उनले स्वीकार गरे।
महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी १ हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो। जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको थियो।
महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुनसक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित गराउन र उक्त समयमा काम गर्नाका लागि उच्च मनोबल प्राप्त होस् भनी महानगरले सामूहकरूपमा बीमा गरिदिएको प्रवक्ता डङ्गोलको भनाइ छ।
बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष २०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख प्राप्त हुनेछ। समयमा महानगरले प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।