काठमाडौं– अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलको दोस्रो इनिङमा भारतले खराब रेकर्ड राखेको छ। भारत ३६ रन मै अलआउट भयो।
तेस्रो दिन भारतले इतिहासकै खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा ३६ रनमात्रै बनाउन सक्यो। सन् १९७४ जुन २४ तारिखमा भारतले इंग्ल्यिान्डविरुद्ध खराब प्रदर्शन गर्दै ४२ रन बनाएको थियो। टेस्ट क्रिकेटमा भारतको यो नै सबै भन्दा न्युन स्कोर थियो। तर अस्ट्रेलियाविरुद्धको ३६ रन भारतको सबै भन्दा न्युन स्कोर बनेको छ। भने अचम्मको कुरा भारतीय कुनै पनि ब्याट्सम्यानले यो खेलमा दोहोरो अंक पनि बनाउन सकेका छैनन्।
भारतले ३६ रन बनाउने क्रममा ब्याट्सम्यानको सर्वाधिक नै ९ रन रह्यो। मयंक अग्रवालले ९ रन बनाउँदा हनुमा विहारीले ८, पृथ्वी शो, कप्तान विराट कोहली, रिद्धिमान साह र उमेश यादवले समान ४–४ रन बनाए।
भारतले चार विकेट त शून्य रन मै गुमाएको छ। सात रन हुँदा पहिलो विकेट गुमाएको भारतले १५ रन हुँदा दोस्रो विकेटको रुपमा जसप्रित बुमराहलाई गुमाएको थियो। त्यसपछि ११.२ ओभरमा १५ रन हुँदा नै चेतेश्वर पुजारा, १२.१ ओभरमा मयंक अग्रवाल र १५ रन हुँदा नै १२.५ ओभरमा अजिंक्या राहाने आउट भए। एकपछि अर्को विकेट गुमाएको भारतको केही चलेन।
अस्ट्रेलियाका लागि जोश हजलवोडले पाँच ओभरमा तीन ओभर मेडनसहित आठ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै, पट कुम्मिन्सले चार विकेट लिए। भारत ३६ रन मै अलआउट भएसँगै अस्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पाएको छ।
यसअघि टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको भारतले सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो। अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिङमा १९१ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।