काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्।
’भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन। हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भन्नु भयो, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं।’
ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको उनले जानकारी दिए। अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाइलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गरे।
अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागी परेकोसमेत उल्लेख गरे।
'अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ,' अर्थमन्त्री पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।