काठमाडौं- आइएमई ग्रुपले कोभिड १९ का कारण विदेशमा ज्याज गुमाएका ७९ जनाको परिवारलाई जनही ५० हजार रुपैयाँको नगद सहयोग गरेको छ। ग्रुपले महामारीबाट विदेशमा मूल्य भएका श्रमिकका परिवारलाई सहयोग गर्ने उद्देश्यले आइएमई भरोसा कोषको स्थापना गरेको थियो।
शुक्रबार एक कार्यक्रम आयोजना गरेर उक्त परिवारका सदश्यलाई चेक हस्तान्तरण गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल तथा ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कोषले गत वर्ष पुस १६ गतेदेखि असोज मसान्तसम्म कोभिडका कारण विदेशमा ज्यान गुमाएका परिवारसँग सहयोगका लागि निवेदन आह्वान गरेको थियो। उक्त अवधिमा ८१ जनाको निवेदन परेको थियो। निवेदन दिनेमध्ये दुई जना आइएमईका ग्राहक नभएका कारण सहयोगका लागि योग्य नभएका र बाँकी ७९ जनाका परिवारले कर बाहेक एक मुष्ठ रुपमा ५० हजार रुपैयाँ प्राप्त गरेका हुन्। कार्यक्रममा आइएमई ग्रुपका ब्राण्ड एम्बास्डर कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको उपस्थिति थियो। पीडित परिवारले पुस मसान्तसम्ममा आइएमई पे वालेट मार्फत रकम प्राप्त गर्न सक्ने छन्।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको बताए। प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने बताए।
ग्रुमका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोभिड-१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई मात्र भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।