काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो दाबी गरेका हुन्।
बैठकमा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको दाबी दोहोर्याए। अप्ठेरो स्थितिलाई मध्यनजर गरी छिटो छरितो काम गर्न पहल गरेको उनको भनाइ छ।
विशेष परिस्थितिमा मन्त्रिपरिषद्ले सार्वजनिक खरिद गर्न बेग्लै नीतिगत व्यवस्था गरेकाले छोटो समयमा काम गर्न पहल गरिएको उनले बताए। स्वास्थ्य सामग्रीको अभाव नेपाल मात्र नभएर विदेशमा पनि भएकोले तत्कालै नेपालमा ल्याउन लामो प्रक्रियालाई छोट्याउने व्यवस्था गरिएको समेत उनले उल्लेख गरे।
'विदेशमा उत्पादित सामग्रीमा शक्तिराष्ट्रले हानथाप गरेको अवस्था थियो। महामारीको आतंक बढेको थियो। पिपिईको अभावमा काम गर्न नसकिने भनेर स्वास्थ्यकर्मीले ध्यानाकर्षण गराएका थिए,' उनले भने यस्तो अवस्थामा मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णय कार्यान्वयन गराउन मैले पहल गरेको हुँ। तर आर्थिक अनियमिततामा पार्ने गरी म संलग्न भएको छैन।'
गत वर्ष चैतमा सरकारले मेडिकल सामग्री खरिदको ठेक्का दिँदा व्यापक भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना भएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्रक्रिया पूरा नगरी मेडिकल सामग्रीको ठेक्का ओम्नी ग्रुपलाई जिम्मा लगाएको उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।