काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ४ महिनासम्म आइपुग्दा गत आर्थिक वर्षको समान अवधिको तुलनामा ७ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा २ खर्ब ४७ अर्ब रूपैयाँ राजस्व संकलन भएकोमा चालु वर्ष २ खर्ब ४० अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।
मन्त्रालयका अनुसार भन्सारतर्फ गत वर्षको पहिलो चौमासिकमा भन्दा यो वर्ष ६.२५ प्रतिशतले धेरै राजस्व संकलन भएको छ। गत वर्षको यो अवधिमा ५१ अर्ब ७७ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा यो वर्ष ५५ अर्ब १ करोड रूपैयाँ संकलन भएको छ।
मूल्य अभिवृद्धि कर संकलन ७ प्रतिशतले न्यून छ। गत वर्षको यो अवधिमा ८४ अर्ब ५९ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर संकलन भएकोमा यो वर्ष ७८ अर्ब ६३ करोड रूपैयाँ संकलन भएको छ। आन्तरिक उत्पादन ब्रिक्री र सेवामा मूल्य अभिवृद्धि कर संकलन १७ प्रतिशतले ऋणात्मक भए पनि पैठारीतर्फको ३.७९ प्रतिशतले धनात्मक छ।
अन्त:शुल्क पनि ऋणात्मक छ। अन्त:शुल्क संकलन पैठारीमा १२ प्रतिशतले र आन्तरिक उत्पादनमा ०.३ प्रतिशतले ऋणात्मक छ।
गत वर्षको यो अवधिमा ४३ अर्ब ६ करोड रूपैयाँ अन्त:शुल्क संकलन भएकोमा यो वर्ष ४० अर्ब ६२ करोड रूपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ।
आयकर संकलन २.६५ प्रतिशतले सकारात्मक छ। गत वर्षको यो अवधिमा ४५ अर्ब ५ करोड रूपैयाँ आयकर संकलन भएकोमा यो वर्ष ४६ अर्ब २५ करोड रूपैयाँ संकलन भएको छ। ब्याजकर र आयकर दुवैमा सामान्य वृद्धि देखिएको छ।
यो अवधिमा गैरकर राजस्व संकलन घटेको छ भने अन्य प्राप्तिमा सामान्य वृद्धि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।