काठमाडौं- प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न मिल्नेगरी अध्यादेश जारी भएको छ। संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो।
अध्यादेशमा अध्यक्ष (प्रधानमन्त्री) सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था छ। संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ। अहिले उपसभामुखको पद रिक्त छ।
बैठक बस्नका लागि यसअघि प्रधानमन्त्री सहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो। अध्यादेशमा त्यसलाई परिवर्तन गरिएको छ।
साथै, अब तत्काल कायम रहेका (अहिलेलाई ५ जना) सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने बाटो पनि खुला गरेको छ। तत्काल कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने सुविधा अध्यादेशमा छ। संवैधानिक परिषद्को बैठक सम्बन्धमा अहिले प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको असन्तुष्टि देखिन्छ। तर अध्यादेशले उनीहरु बिना नै निर्णय गर्न रोक्दैन। किनकि, प्रधानमन्त्री, प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्षको उपस्थितिमा बैठक बसेर निर्णय गर्न सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।