चितवन- राप्तीले गौतम बुद्ध कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नारायणी टिमलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो। १४४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सक्यो।
नारायणीका लागि आरिफ शेखले ४८ रन बनाए। उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४८ रन बनाएपनि जित दिलाउन सकेनन्। त्यस्तै, रित गौतम र इशान पाण्डेले समान २७–२७ रन बनाए। नारायणीका बाँकी ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन नसक्दा हार व्यहोरेको हो। बलिङतर्फ अविनाश बोहराले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए।
यसअघि चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले उत्कृष्ट सुरुवात गर्दै २० ओभरको समाप्तीमा आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

राप्तीका लागि ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५१ रनको उत्कृष्ट साझेदारी गरे। पहिलो विकेटको रुपमा अमित ५.४ ओभरमा ब्यक्तिगत १८ रन बनाए। राप्तीका लागि कुशलले ४२ रनको सर्वाधिक रन बनाए।
त्यस्तै, कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा शरद भेषावकरले १० रनको योगदान दिए। बलिङतर्फ नारायणीका लागि शाहव आलमले तीन विकेट लिँदा सुशन भारीले दुई र कप्तान करण केसीले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।