काठमाडौं–१८ वर्षको उल्झनपछि काठमाडौंको चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकमा कालोपत्रे सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका र चमतीका स्थानीयवासिन्दाको साझेदारीमा झण्डै १४ सय रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्ने भन्दै सुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ।
कालोपत्रे सुरु गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विकासका आयोजनाहरुले गति लिएको र लामो समयदेखि उल्झनमा परेका सयौं आयोजनाको काम थालिएको बताए।
उनले सरकारले जनताको जीवनस्तर उकास्नेगरी ऐतिहासिक काम गरेको बताउँदै उनले राम्रा काम नदेख्ने प्रवृत्तिका कारण समस्या पैदा भएको बताए।
वर्तमान सरकारले जनतामा आशा जगाउने धेरै काम गरेको उल्लेख गर्दै उनले समृद्ध मुलुक निर्माण भएको देख्न नचाहनेहरुले सरकारको राम्रा काम पनि देख्न नचाहेको बताए।
नेकपाभित्र देखिएको केही वाद विवादले सरकारको काम प्रभावित भएको बताउँदै उनले केही दिनभित्रै ओली नेतृत्वको सरकारलाई थप गतिशील र प्रभावकारी बनाउनेगरी शीर्ष नेताहरु अघि बढ्ने दाबी गरे।
कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको बताउँदै सुन्दर सहर निर्माणको अभियानमा यो आयोजना उदाहरणीय हुने बताए।
काठमाडौं महानगर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले आयोजना सकिएसँगै वडा कार्यालयका प्रशासनिक कामका लागि यही स्थानमा कार्यालय निर्माण गरि सार्ने तयारी भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।