काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्न आज (मंगलबार) अस्ट्रेलिया प्रस्थान गर्दै छन्।
सन्दीप बिग बास क्रिकेट प्रतियोगिता खेल्न आज विहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्ने छन्। सन्दीप पुस १ गते (भोलि) अस्ट्रेलियाको सहर एडलाइड पुग्ने छन्। त्यसपछि १४ दिनको क्वारेन्टाइनपछि सन्दीप बिग बास खेल्न टिमसँग उपलब्ध हुने छन्।
सन्दीपलाई होबर्ट हरिकेन्सले आफ्नो टिममा अनुबन्धित गरेको थियो। सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। यो सिजनका लागि भने सन्दीपलाई मेलबर्नले सम्झौता नवीकरण नगरेपछि कुन क्लबबाट खेल्ने भन्ने टुंगो लागेको थिएन। तर मंसिर ४ गते सन्दीपलाई होबर्ट हरिकेन्सले अनुबन्धित गरेको थियो।
डिसेम्बर १० तारिखबाट सुरु भएको बिग बास क्रिकेटमा होर्बट हरिकेन्सले आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ। त्यस्तै, दोस्रो खेलमा सन्दीप आबद्ध टिम होबर्ट हरिकेन्सले एडलाइड स्ट्राइकर्सलाई ११ रनले पराजित गरेको छ। अस्ट्रेलिया पुगेर करिब १४ दिनको क्वारेन्टाइनमा बस्ने सन्दीपले ३० डिसेम्बरभन्दा अघिको खेल खेल्न पाउने छैनन्। ३० डिसेम्बरमा होर्बटको ब्रिसबन हिटसँग खेल छ। यो खेलमा भने सन्दीप उपलब्ध हुन सक्छन्।
यसअघि नोभेम्बर १० तारिखमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपविजेता टिम दिल्ली क्यापिटल्समा सन्दीपले भने एक खेल पनि खेल्न पाएका थिएनन्। टिम फाइनलसम्म पुग्दा सन्दीप भने बेन्चमै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।