काठमाडौं– नेपालले सन् २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप क्रिकेटको ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निकालेको छनौट प्रक्रियाअनुसार नेपालले सिधैं विश्वकपको ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने भएको हो।
आइसिसीले नेपालसहित जिम्बाब्वे, युएई र सिंगापुरलाई सिधैं विश्वकपको ग्लोबल छनौटमा पुर्याएको हो। नेपालसँगै युएई, जिम्बाब्वे र सिंगापुरको टि–२० विश्व बरियता राम्रो भएको कारण छनौट गरेको हो। टि–२० क्रिकेटमा नेपाल अहिले विश्व बरियतामा १५ औं स्थानमा छ। त्यस्तै, जिम्बाब्वे १२ औं स्थानमा हुँदा युएई १३ औं र सिंगापुर २० औं स्थानमा छ।
२०२२ को विश्वकप छनौट यही वर्षको फेब्रुअरी र मे महिनामा हुनेछ। ग्लोबल छनौटमा १६ टिमको प्रतिस्पर्धा हुनेछ। जहाँ नेपाल, सिंगापुर, युएई र जिम्बाब्वेसँगै सन् २०२१ को टि–२० विश्वकप खेलेका पुछारका चार टिमको सहभागिता रहनेछ। त्यस्तै, एसिया, अमेरिका, अफ्रिका र युरोप महादेश समान २–२ र इस्ट एसिया प्यासिफिकबाट एक टिम गरी आठ राष्ट्र ग्लोबल छनौटमा प्रवेश गर्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।