चितवन– राप्ती टिमले गौतम बुद्ध कप टि–२० क्रिकेट प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ। सोमबार भएको लिग चरणको अन्तिम खेलमा नारायणीलाई एक विकेटले पराजित गर्दै राप्तीले शतप्रतिशत जित निकालेको हो।
१३९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राप्तीले २० ओभर सकिन एक बल बाँकी छँदा लक्ष्य भेटायो। राप्तीका लागि कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरे। उनले ४१ बलमा ६ छक्का र चार चौका प्रहार गर्दै ६५ रन बनाए। त्यस्तै, कमलसिंह ऐरीले अविजित २४ रन बनाउँदा आसिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए। बलिङतर्फ करण केसीले तीन विकेट लिँदा किशोर महतो र सुशन भारीले समान २–२ विकेट लिए।
यसअघि चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन बनाएपछि राप्तीले मध्यम लक्ष्य पाएको थियो। खराब सुरुवात गरेको नारायणीले तीन रन हुँदा दोस्रो विकेट गुमाएको थियो। राजु रिजाल शून्य रनमा आउट हुँदा सन्दीप जोरा एक रनमा आउट भए।
७९ रन हुँदा सात विकेट गुमाएको नारायणीका लागि कप्तान करण केसी र किशोर महत्तोले टिमलाई उकासे। करण किशोरले ५९ रनको साझेदारी गरेका थिए। विष्फोटक ब्याटिङ गरेका किशोरले १४ बलमा चार छक्का र दुई चौका प्रहार गर्दै ३६ रनमा अविजित रहे।
कप्तान करणले २२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३२ रन बनाए। यसअघि सुसन भारीले १८ र इशान पान्डेले १० रनको योगदान दिए। बलिङतर्फ सूर्य तामाङ र अविनाश बोहराले समान २–२ विकेट लिएका थिए।
नारायणी र राप्ती दुवै टिम फाइनल प्रवेश गरिसकेका टिम हुन्। बागमती टिमले दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राप्ती र नारायणी फाइनलमा पुगेका थिए। मंगलबार राप्ती र नारायणीबीच फाइनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।