काठमाडौं- झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरु देखा परेका छन्।
राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको ४५ किलोमिटर निर्माण भइसकेको छ। तर पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाका विभिन्न स्थानमा भत्कन थालेको छ।
नहरको पुलमा लगाएका रेलिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिनेलगायतका चुनौती समाना गर्नुपरेको छ। सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहरभित्र बनाइएका स्याल्यापहरु माटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताए।
'सिक्टा नहरमा खास गरेर घुलनशील माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ। यस्तै जंगलको बाटो भएकै कारणले पानी खेतसम्म पुर्याउन गाह्रो भएको थियो। तर पनि पानी ल्याउन सफल भएका छौं,' आयोजनाका इन्जिनियर नरेश पाण्डेले बताए।
सिक्टा सिंचाईको ठूलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवस्थित रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पुर्याउन थप जटिल देखिएको छ। सिक्टा सिंचाई आयोजना बाँकेको पहलमा काम भइराखे पनि स्थानीय निकायहरू भने मौन देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।