चितवन- अलराउन्डर करण केसीको विष्फोटक ब्याटिङमा टिम नारायणीले गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा बागमती टिमलाई सुपर ओभरमा पराजित गरेको छ।
जितका लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा नारायणीका करण केसी र आरिफ शेख ब्याटिङमा आएका थिए। बागमतीका सोमपाल कामीले बलिङ गरेका थिए। पहिलो तीन बलमा नै करणले सोमपाललाई लगातार तीन छक्का प्रहार गरे।
सोमपालले चौथो र पाँचौ बल भने डट राखेका थिए। अन्तिम बल फाल्ने क्रममा वाइड गरेपछि अर्को बलमा करणले छक्का प्रहार गर्दै कुल २५ रन जोडेका थिए। जितका लागि सुपर ओभरमा २६ रन बनाउन बागमतीबाट ज्ञानेन्द्र मल्ल र पवन सरार्फ ब्याटिङमा आएका थिए। बलिङ करण केसीले गरेका थिए।
ज्ञानेन्द्रले पनि पहिलो बलमै छक्का प्रहार गर्दै राम्रो जवाफ दिएका थिए। दोस्रो बल करणले वाइड फालेका थिए। मल्लले अर्को बल छक्का प्रहार गर्दै खेलमा रोमान्चकता बढाएका थिए। तेस्रो बलमा ज्ञानेन्द्रले एक रन लिन मानेनन्। चौथो बलमा ज्ञानेन्द्रले छक्का प्रहार गरेपछि खेल झन रोमान्चक बनेको थियो। पाँचौ बल करणले डट राखे। अन्तिम बलमा ज्ञानेन्द्रले एक रन लिएपनि जितको लागि पर्याप्त भएन।
यसअघि आरिफ शेखले ४४, सिद्धान्त लोहनीले २०, इशान पाण्डेले १३ र कप्तान सुवास खकुरेलले ११ रन बनाए। बलिङतर्फ सोमपाल कामीले दुई विकेट लिए। यसअघि टस हारेर भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। बागमतीका लागि विक्रम शोबले अविजित ३७ रन बनउँदा सुनिल धमलाले ३७ रन नै बनाएका थिए। राशिद खानले २७ रन बनाए। बलिङतर्फ नारायणीका साहब आलमले तीन विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।