काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताबारे समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो।
आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए। समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरी ओम्नी समूहमार्फत् सेटिङमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै अध्ययन गरेको थियो। तर लामो समय समितिको बैठक नै नबस्दा यो विषयमा छलफल गर्न भएको थिएन। अबका बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो।
यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ। अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताए।
विशेषगरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको उनले बताए। सडक निर्माण, विद्युत प्राधिकरण मार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजुरी परेको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।