काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्ने मंसिर ३० गते अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन्।
सन्दीप बिग बास क्रिकेट प्रतियोगिता खेल्न मंसिर ३० गते विहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्न लागेको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। सन्दीप पुस १ गते अस्ट्रेलियाको शहर एडलाइड पुग्ने छन्। त्यसपछि १४ दिनको क्वारेन्टाइनपछि सन्दीप बिग बास खेल्न टिमसँग उपलब्ध हुने छन्।
सन्दीपलाई होबर्ट हरिकेन्सबाट आफ्नो टिममा अनुबन्धित गरेको थियो। सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। यो सिजनका लागि भने सन्दीपलाई मेलबर्नले सम्झौता नविकरण नगरेपछि कुन क्लबबाट खेल्ने भन्ने टुंगो लागेको थिएन। तर मंसिर ४ गते सन्दीपलाई होबर्ट हरिकेन्सले अनुबन्धित गरेको थियो।
बिग बासमा होर्बटले आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १० डिसेम्बर (आज) खेल्दैछ। सन्दीपले करिब पाँच खेल गुमाउने भएको छ। अस्ट्रेलिया पुगेर करिब १४ दिनको क्वारेनटाइन बस्नु परेमा सन्दीपले ३० डिसेम्बरभन्दा अघिको खेल खेल्न पाउने छैनन्। ३० डिसेम्बरमा होर्बटको ब्रिसबन हिटसँग छ। यो खेलमा भने सन्दीप उपलब्ध हुन सक्छन्।
यसअघि नोभेम्बर १० तारिखमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपविजेता टिम दिल्ली क्यापिटल्समा सन्दीपले भने एक खेल पनि खेल्न पाएका थिएनन्। टिम फाइनलसम्म पुग्दा सन्दीप भने बेन्चमै रहिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।