काठमाडौं– एक खेलअघि नै टि–२० क्रिकेट सिरिज जितेको भारतले अन्तिम खेलमा भने अस्ट्रेलियासँग हारेको छ।
घरेलु टिम अस्ट्रेलियासँग अन्तिम खेलमा १२ रनले हारेपनि भारतले टि–२० सिरिज भने २–१ ले जितेको छ। १८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन मात्रै बनायो। भारतका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा भारतले अन्तिम खेल हारेको हो।
कप्तान विराटले ६१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ८५ रन बनाएका थिए। शून्य रनमै केएल राहुललाई म्याक्सवेलले पेविलियन फर्काएपछि भारत दबाबमा आएको थियो। भारतका लागि शिखर धवनले २८ र हार्दिक पाण्ड्याले २० रन जोडे। बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्वेप्सनले चार ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।
यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८६ रन बनायो। खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि माथेव वाडले ८० रन बनाए। उनले ५३ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ८० रन बनाएका थिए। उनले ग्लेन म्याक्सवेलसँग मिलेर ९० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई उकासेका थिए।
त्यस्तै, ग्लेन म्याक्सवेलले ३६ बलमा ५४ रन बनाए। उनले तीन छक्का र तीन चौका प्रहार गरे। ग्लेन म्याक्सवेलले दुई पटक जीवनदान पाए। उनी १९ रन बनाउँदा युज्भेन्द्र चाहालको बलमा क्याच आउट भए तर पछि नो–बल भएपछि क्याक्सवेल फैदान फर्किएका थिए। १८.६ ओभरमा सार्दुल ठाकुरको बलमा म्याक्सवेललाई क्याच आउट गराउनबाट युज्भेन्द्र चाहाल चुके। त्यस्तै, स्टेभ स्मिथले २४ रनको योगदान दिए। बलिङतर्फ भारतका वासिङटन सुन्दरले दुई विकेट लिए।
यसअघि पहिलो खेलमा ११ रनले जितेको भारतले दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै, यसअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने अस्ट्रेलियाले भारतलाई २–१ ले जितेको थियो। अब भारत र अस्ट्रेलियाबीचको चार खेलको टेस्ट क्रिकेट सिरिज १७ डिसेम्बरबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।